देशभर दुई दर्जन केवलकार बन्दै, मुक्तिनाथ केवलकारको अध्ययन सुरु

देशभर दुई दर्जन केवलकार बन्दै, मुक्तिनाथ केवलकारको अध्ययन सुरु

सहज यातायात संजाल विकासको रुपमा परिचित केवलकार निर्माण पछिल्लो समय ह्वात्तै बढेको छ । मनकामना केवलकार निर्माण भएको झण्डै दुई दशकपछि मुलुकमा दुई दर्जन केवलकार थपिन लागेको हो । पछिल्लो समय थपिएको चन्द्रागिरि केवलकार र मनकामना केवलकारले लोकप्रियता कमाएपछि अन्य धार्मिक स्थलमा पनि केवलकार निर्माण कार्य अघि बढेको हो ।

दोलखा जिल्लाको कालिन्चोक मन्दिरका लागि स्थापना भएको कालिन्चोक केवलकार निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा आउने तयारीमा छ । प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले निर्माण कार्य अघि बढाएको छ । बन्दीपुरमा केवलकार संचालका लागि लगानी जुटाउन थालिएको छ ।

ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन गरिरहेको छ ।

मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन गरिरहेको छ । सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ ।

मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको नेपाल रोप वे प्राइभेट लिमिटेडका अध्यक्ष गुणराज ढकालले बताए । देशभर खर्बौको लगानीमा केवलकार निर्माण हुँदै गरेको उनले जानकारी दिए ।

डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथिभरा दर्शनका लागि पनि केवलकार निर्माण प्रक्रिया शुरु गरिएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ ।

काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि माग भएको छ । भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केवलकार बनाउन त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ ।

मुक्तिनाथ दर्शन प्रालिले ४० अर्बभन्दा बढी रुपैयाँ लगानी गरेर मुक्तिनाथको मन्दिरसम्म केवलकार निर्माण गर्ने भएको छ । मुक्तिनाथ दर्शन प्रालिले पोखराको विरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म ८५ किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन शुरु गरेको हो ।

हिन्दु तथा बौद्ध धर्मालम्वीको आस्थाको केन्द्र मुक्तिनाथमा वर्षेनी आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढ्न थालेपछि तिर्थयात्रीको सहजताको लागि केवलकार निर्माण गर्न लागिएको कम्पनीले अध्यक्ष अरुण कुमारकुमार सुवेदीले बताए ।

निर्माण कार्यमा विघ्नवाधा नआए अबको ५ वर्षमा मुक्तिनाथको दर्शन केवलकार चढेर सहजै गर्न सकिन्छ’, उनले भने ‘अर्को आर्थिक वर्षको फागुनसम्म विस्तृत परियोजना प्रतिवेदन तयार हुने गरी कार्य अघि बढाएका छौं । केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच समझदारीपत्रमा यस अघि नै हस्ताक्षर भइसकेको छ ।

८३ दशमलव ६५ किलोमिटर लम्बाइ रहने केवलकारमा ६ वटा स्टेशन रहनेछन् । पहिलो शुरुवाती स्टेशन पोखराको विरेठाँटीमा हुनेछ । त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथ स्टेशन रहनेछ । करिब डेढ दशकपछि सार्वजनिक निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केवलकार निर्माण गर्न लागिएको हो ।

स्रोत: आर्थिक न्युज डट कम