अन्नपूर्ण केबलकार ८० प्रतिशत निर्माण कार्य सम्पन्न

अन्नपूर्ण केबलकार ८० प्रतिशत निर्माण कार्य सम्पन्न

पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा हाल निर्माण हुँदै गरेको अन्नपूर्ण केबलकारको करिब ८० प्रतिशतजसो निर्माण कार्य सम्पन्न भएको छ। नेपालीहरूको महान चार्ड दसैं पर्वको अवसरमा उक्त केबलकार सञ्चालनमा ल्याउने गरी हाल निर्माण कार्य करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको सञ्चालक निर्देशक मध्यका एक तीर्थराज त्रिपाठीले बताउनुभएको कारोबार अनलाइनले लेखेको छ।
उहाँका अनुसार उक्त केबलकारमा प्रयोग हुने विभिन्न वस्तुसहितका मेसिनरी सामानहरू पोखरा आइसकेका छन्। जेनेरेटर पोखरा आउँदै गरेको बताउनु भएका उहाँले उक्त केबलकारमा प्रयोग हुने डोरी, गण्डलासहितका मेसिनरी सामानहरू पोखरामा आइसकेकाले अब त्यसलाई जडान कार्य बाँकी रहेको निर्देशक त्रिपाठीले बताउनुभयो। माथिल्लो (टप) स्टेसनमा छानो हालिसकिएको छ भने तल्लो (बटम) स्टेसनमा छानो हाल्ने क्रम सुरु भएको छ।

स्टेसनमा छानो हालेपछि स्टेसनको फिनिसिङ गर्ने काम बाँकी रहेकाले उक्त काम पानी परे पनि खासै नरोकिने त्रिपाठीले जनाउनुभयो। १८ वटा टावरमध्ये हालसम्म १७ वटा पूर्णरूपमा निर्माण गरिएको छ भने बाँकी एउटा चौथो टावरका रूपमा रहेको उक्त टावरको हाल निर्माण हुँदैछ। स्टेसनमा टायल, मार्बल इन्टरनेट, कार्यालय व्यवस्थापन, पार्किङलगायतका काम हुने भएको छ।

भदौमा जापानबाट आउने प्राविधिक टोलीले उक्त केबलकारको सुपरभिजन गरी केवलकार असोजभित्र सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको त्रिपाठीले जनाउनुभयो। हाल दैनिकजसो ६० जना उक्त परियोजनामा कर्मचारी आबद्ध भएको उहाँले बताउनुभयो। माथिल्लो स्टेसनको भवनमै माथिल्लो तलामा आर्सीसी विल्डङमा उच्च स्तरको रेस्टुराँ सञ्चालन गर्ने तयारी गरेकाले उक्त परियोजनामा थप लगानी तथा थप समय लागेको त्रिपाठीले बताउनुभयो।

उक्त परियोजनाको बजेट बढ्न गएको उहाँले जानकारी दिनुभयो। हाल १ अर्ब ३० करोड लगानी हुने भएको निर्देशक त्रिपाठीले उल्लेख गर्नुभयो। नेपाल राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले उक्त परियोजनामा बैंकिङ पार्टरका रूपमा रहेको उहाँले बताउनुभयो।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टका रूपमा आफूहरूले विकसित गर्न खोजिएको त्रिपाठीले बताउनुभयो। २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा (गोन्डोला) रहने भएका छन् भने प्रतिडिब्बमा ८ जनाको सिट क्षेमता रहनेछ। एउटा डिब्बा सामान बोक्नका लागि बाँकी १७ वटा यात्रुका लागि प्रयोग हुने भएको निर्देशक त्रिपाठीले बताउनुभयो। उक्त केबलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षमताको भएको उहाँले जनाउनुभयो।

माथिल्लो स्टेसन भवनसहित स्काई हेवन वेलुन रेस्टुराँ, भ्यू–टावर निर्माण हुँदै छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण हुने भएको छ। स्टेसन निर्माण गर्ने विषयमा पहिला स्टिल फेब्रिकेसन मोडल निर्माण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसीसी (कंक्रिट) मोडलमा निर्माण गरेकाले लागत बढ्न गएको उहाँले बताउनुभयो।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताउनुभयो। प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केबलकार निर्माण भएको उहाँले जनाउनुभयो। केबलकार निर्माण भएपछि फेवातालको किनार सेतीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न

सकिने छ। अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ। सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना गराइसकेको प्रालिले जनाएको छ।

कम्पनीले लुम्लेमा विभिन्न व्यक्तिहरूसँगबाट जग्गा किनेर सट्टा भर्ना दिएको छ। साथै कम्पनीले वार्षिक उक्त जग्गाको राजस्वसमेत तिर्नुपर्ने हुन्छ। सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ। त्यसैगरी कम्पनीले तल्लो स्टेसनमा १४ र माथिल्लो स्टेसन क्षेत्रमा करिब १२ रोपनी जग्गा लिएको छ।

केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ। अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ हुनुहुन्छ। केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो।

स्रोतः कारोबार